मौलिकतालाई प्रोत्साहन गर्दै युट्युब
विराटनगर असार २८
मौलिकता र सिर्जनशीलतालाई प्रोत्साहन गर्न भन्दै युट्युबले जुलाई १५ देखि आफ्नो मुद्रीकरण नीति कडा पार्ने भएको छ। नयाँ नियमअनुसार दोहोरिने, थोकमा उत्पादित र एआईले सिर्जना गरेका सामग्रीले अब मोनेटाइज हुने बाटो सजिलो रहने छैन।
हालसम्मजस्तै युट्युब पार्टनर प्रोग्राम (वाईपीपी) मा सहभागी हुन च्यानलसँग कम्तीमा १ हजार सब्सक्राइबर र पछिल्लो १२ महिनामा ४ हजार घण्टा हेर्ने समय वा ९० दिनमा १ करोड सर्ट्स भ्यू हुनुपर्नेछ। यद्यपि नयाँ नियमले ती प्राविधिक मापदण्ड पुगे पनि सामग्रीको मौलिकता र गुणस्तर नपुगे मोनेटाइजेसन बन्द गर्न सकिनेछ।
“प्लेटफर्ममा कम गुणस्तरका, दोहोरिने र मेशिन–निर्मित सामग्रीको बाढी आएको छ। अब त्यस्ता सामग्रीले दर्शकको विश्वास गुमाउँछन्,” युट्युबको विज्ञप्तिमा भनिएको छ, “त्यसैले हामीले मौलिक सामग्रीको कदर गर्न नयाँ नियम ल्याएका हौं।”
एआई सामग्रीको बाढी
पछिल्ला वर्षमा एआई प्रविधिको विकाससँगै युट्युबमा यस्ता सामग्रीको बाढी आएको देखिएको छ। धेरै च्यानलले एआईले बनाएका भिडियो पोस्ट गरेर लाखौं सब्सक्राइबर बटुलेका छन्। तिनीहरूलाई यथार्थजस्तो देखाएर विज्ञापन आम्दानी पनि लिइएको पाइन्छ।
तर यस्ता सामग्रीले प्लेटफर्मको गुणस्तर र दर्शकको अनुभव बिगारेको भन्दै कम्पनीले अब त्यसलाई नियन्त्रणमा ल्याउने भएको हो। युट्युबका अनुसार मौलिक र सिर्जनात्मक सामग्री बनाउनेहरूलाई यसले फाइदा पुर्याउनेछ।
नियम उस्तै, तर अब गुणस्तर पनि हेर्ने
नयाँ नियमले मोनेटाइजेसनका लागि न्यूनतम मापदण्ड भने जस्ताको त्यस्तै राखेको छ। तर अब ती मापदण्ड मात्र पुगेर हुँदैन, सामग्रीमा मौलिकता र प्रमाणिकता पनि देखिनुपर्नेछ।
कम्पनीका अनुसार यो नियम लागू भएपछि पनि थोकमा एआई सामग्री उत्पादन गर्नेहरूलाई ठूलो असर पर्नेछ। दर्शक र भ्यूज भए पनि नियम उल्लंघन गरेमा आम्दानी रोक्न सकिनेछ।
मौलिकताकै सम्मान
युट्युबले भनेको छ, “हामी सिर्जनात्मकता र मौलिकता प्रति प्रतिबद्ध छौं। थोक र नक्कली सामग्रीले प्लेटफर्मलाई क्षति पुर्याउँछ। त्यसैले यस्ता सामग्रीमाथि अब अंकुश लगाइनेछ।”
View : 345
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved