काठमाडौं, श्रावण १३
श्रावण शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने नाग पञ्चमी पर्व आज देशभर वैदिक परम्परा, श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। हिन्दू धर्मशास्त्रअनुसार सर्पलाई दिव्य र शक्तिशाली प्राणीको रूपमा मानिन्छ, र यो दिन नागदेवताप्रति समर्पित विशेष पर्वको रूपमा लिइन्छ।
नाग पञ्चमीको अवसरमा भक्तजनहरूले नाग देवताको पूजा–अर्चनाका लागि दूध, फूल, मिठाई, अक्षता र विशेषगरी भुटिएको धान (लाभा) अर्पण गर्दै घर, मठमन्दिर र नागस्थानहरूमा पूजा गरिरहेका छन्। जनविश्वासअनुसार आज गरिएका पूजा सिधै नागलोकमा पुग्ने र नागदेवता प्रसन्न हुने विश्वास गरिन्छ।
वेद तथा पुराणहरूमा वर्णित शेष, वासुकी, तक्षक, कर्कोटक, पद्म, महापद्म, ऐरावत, कालिया लगायत १२ प्रमुख नागहरूको नाम उच्चारण गर्दै पूजा गर्ने परम्परा छ।
सर्पको प्रत्यक्ष उपस्थितिमा पूजा गर्न सकिने अवस्था नभएकाले नागको चित्र, काठ वा ढुंगामा निर्मित प्रतिमा राखी पूजा गर्ने चलन रहेको छ। साथै घरको ढोकामाथि नागको चित्र टाँसी टिका, दूध र लाभा चढाउने परम्परा आजकै दिन विशेष रूपमा देखिन्छ।
नाग पञ्चमी पर्वले जल, माटो, सृष्टि र जीवजन्तुहरूप्रति सम्मान, संरक्षण र सहअस्तित्वको सन्देश दिने धार्मिक र सांस्कृतिक मान्यता बोकेको छ। देशका विभिन्न स्थानमा परम्परागत विधिअनुसार पूजाआजा, व्रत, कथा वाचन र सांस्कृतिक कार्यक्रमहरू भइरहेको जनाइएको छ।
View : 274
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved