काठमाडौं। भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का सम्पूर्ण खेलहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले शुक्रबारबाट हुने सबै खेलहरू रोक्ने निर्णय गरेको हो।
भारतीय क्रिकेट बोर्डले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)लाई दिएको जानकारीअनुसार, भारत र पाकिस्तानबीचको पछिल्लो सैन्य द्वन्द्वका कारण आईपीएलको सम्पूर्ण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो। बीसीसीआईका अधिकारीहरूले सुरक्षा स्थितिलाई ध्यानमा राख्दै यो निर्णय लिएको बताएका छन्।
हिन्दुस्तान टाइम्सले शुक्रबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि यही कारण रद्द गरिएको थियो। हालसम्म आईपीएल २०२५ का ७४ खेलमध्ये ५८ खेल सम्पन्न भइसकेका छन्।
भारत र पाकिस्तानबीचको तनाव अप्रेशन 'सिन्दूर' पछि चुलिएको हो। यसै कारणले गर्दा भारतमा आयोजना हुने खेल तथा सार्वजनिक कार्यक्रमहरूमा असर परेको छ। आईपीएल आयोजक समितिले सुरक्षाको पूर्ण सुनिश्चितता नभएसम्मका लागि खेल स्थगित गरेको जनाएको छ।
बीसीसीआईले बाँकी खेलहरूको मिति तथा नयाँ तालिका आगामी दिनहरूमा घोषणा गर्ने बताएको छ। आईपीएलका प्रशंसकहरूलाई शान्त र संयमित रहन अनुरोध गरिएको छ।
View : 315
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved