विराटनगर, साउन १९
विश्व स्तरको केटलवेल खेलकुदमा विराटनगरकी छोरीले चम्किलो सफलता हासिल गरेकी छन्। भारतको कोलकातामा बसोबास गर्दै आएकी बिनिता भुतोडियाले इटालीमा सम्पन्न अन्तर्राष्ट्रिय केटलवेल च्याम्पियनसिप २०२५ मा दोस्रो स्थान हासिल गरेपछि, उनलाई विराटनगरमा आयोजित एक कार्यक्रममार्फत् सम्मान गरिएको हो।
बिनिता भुतोडिया विराटनगर निवासी खेमचन्द जैन र बिमलादेवी लालवानीकी छोरी हुन्। १५ वर्षदेखि केटलवेल खेलमा सक्रिय ४९ वर्षीया भुतोडियाले सन् २०१९ मा अस्ट्रेलियामा सम्पन्न प्रतियोगितामा पहिलो स्थान जितेकी थिइन्। हालै सम्पन्न इटालीको प्रतियोगितामा विश्वभरका ७ सयभन्दा बढी खेलाडी सहभागी थिए, जहाँ बिनिताले उपविजेताको उपाधि हात पारिन्।
उक्त ऐतिहासिक उपलब्धिलाई सम्मान गर्दै आइतबार मारवाडी युवा मञ्च विराटनगरले भव्य कार्यक्रमको आयोजना गर्दै बिनितालाई सम्मानित गर्यो।
सम्मान कार्यक्रममा संघीय सांसद एवं पूर्वमन्त्री अमनलाल मोदी, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानी, महासचिव मधुर दुगड, नेपाल राष्ट्रिय मारवाडी परिषद्का सह- कोषाध्यक्ष फुलकुमार लालवानी, महिला संगठनकी पूर्व अध्यक्ष रचना राठी, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, र माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा लगायतको उपस्थिति थियो।
सम्मान समारोहमा वक्ताहरुले बिनिताले अन्तर्राष्ट्रिय मञ्चमा विराटनगर र नेपालको नाम उच्च बनाएको भन्दै प्रशंसा व्यक्त गरेका थिए। बिनिताले आफ्नो उपलब्धि खेलमा निरन्तर साधना, अनुशासन र दृढ संकल्पको परिणाम भएको बताइन्।
मारवाडी युवा मञ्चले भुतोडियाको योगदान र उपलब्धिलाई प्रेरणादायी बताउँदै आगामी दिनमा समेत यस्ता खेलाडीहरूलाई सम्मान र प्रोत्साहन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।
View : 232
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved