आयो विराटनगरको बजेट
विराटनगर, असार १० – विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४ अर्ब ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले १६ औँ नगरसभामा नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्।
उपप्रमुख कार्कीका अनुसार प्रस्तुत बजेट समावेशी विकास, सामाजिक सुरक्षा, उद्यमशीलता, वातावरण संरक्षण र सुशासनमा केन्द्रित रहेको छ।
सामाजिक क्षेत्रमा १ अर्ब ८९ लाखको विनियोजन
शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, युवा, खेलकुद तथा सामाजिक सुरक्षा जस्ता सामाजिक विकासका कार्यक्रमहरूका लागि १ अर्ब ८९ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ। यसमा विभिन्न संघसंस्थाको ५ करोड ५ लाख रुपैयाँ अनुदान समेत समावेश छ।
आर्थिक क्षेत्रको विकासमा २ करोड ९६ लाख
कृषि, पशुपालन, सहकारी, पर्यटन प्रवर्द्धन, उपभोक्ता संरक्षण र उद्यम विकासमा २ करोड ९६ लाख २५ हजार रुपैयाँ छुट्याइएको छ। कृषि क्षेत्रमा १ करोड ५ लाख, भेटनरीका लागि ८५ लाख २५ हजार, सहकारी क्षेत्रमा २४ लाख तथा पर्यटन प्रवर्द्धनमा २५ लाख विनियोजन गरिएको छ।
वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड १० लाख
वातावरण संरक्षण, जैविक विविधता, सरसफाइ र विपद् व्यवस्थापन कार्यक्रमका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। यसमध्ये सरसफाइ कार्यक्रममै १ करोड ६० लाख विनियोजन गरिएको हो।
सुशासन र संस्थागत विकासमा ३ करोड ३० लाख
राजस्व सुदृढीकरण, नगर प्रहरी तथा ट्राफिक व्यवस्थापन, सूचना तथा सञ्चार, प्रविधि सुदृढीकरण र कानुनी सेवा प्रवाहका लागि ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।
उपप्रमुख कार्कीले नीति तथा बजेट निर्माणमा राय, सुझाव तथा सहयोग गर्ने सबै सरोकारवाला, राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सञ्चारकर्मी, नागरिक समाज, विकास साझेदारहरूप्रति आभार व्यक्त गरिन्।
उनले भनिन्, “सभाबाट सर्वसम्मत पारित भएपछि बजेट कार्यान्वयनमा सबैको साथ र सहकार्यको अपेक्षा गर्दछु। समृद्ध विराटनगर निर्माण हाम्रो साझा अभियान हो।”
View : 165
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved