मोरङ्ग चेम्बर अफ कमर्सको आयोजनामा कटहरी गाउँपालिका–२ मा बृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। पर्यावरण संरक्षण र हरियाली विस्तार गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विभिन्न प्रजातिका करिब ६०० वटा बिरुवा रोपिएको चेम्बरले जनाएको छ।
कार्यक्रमको समन्वय कृषि सल्लाहकार वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले गरेका थिए। साथै आर्थिक सल्लाहकार प्रकाश नारायण चौधरी, चेम्बरका पदाधिकारी, सदस्यहरू र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
मोरङ्ग चेम्बर अफ कमर्सका अध्यक्ष शिव प्रसाद रिजालले वृक्षारोपणलाई संस्थाको दीर्घकालीन प्राथमिकता भएको उल्लेख गर्दै यस अभियानलाई आगामी वर्षहरूमा अझै व्यापक बनाइने बताए। “पर्यावरण संरक्षण हाम्रो सामूहिक जिम्मेवारी हो। चेम्बरले समुदायसँग मिलेर हरियाली विस्तारका यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ,” अध्यक्ष रिजालले भने।
मोरङ्ग चेम्बर अफ कमर्सका अनुसार स्थानीय स्तरमा हरियाली अभिवृद्धि, वातावरणीय सन्तुलन र सामुदायिक चेतनामा सकारात्मक प्रभाव पार्ने उद्देश्यले वृक्षारोपण अभियानलाई निरन्तर अघि बढाइनेछ।
View : 268
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved