कक्षा ११ को प्रवेश परीक्षा
विराटनगर, असार १९
एसईई परीक्षाको नतिजा प्रकाशित भएसँगै विराटनगरस्थित लर्ड बुद्ध कलेजमा कक्षा ११ काे प्रवेश परीक्षामा उल्लेखनीय सहभागिता देखिएको छ। कुल ७५६ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्, जसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूमध्ये ५४० जना कलेजले छनौट गर्ने तयारी गरेको छ।
कलेजमा सञ्चालन हुने होटल म्यानेजमेन्ट, साइन्स, म्यानेजमेन्ट र कम्प्युटर म्यानेजमेन्ट कार्यक्रमहरूप्रति विद्यार्थीहरूको विशेष आकर्षण देखिएको कलेज प्रशासनले जनाएको छ।
कलेजका प्रिन्सिपल दिनेश पण्डितका अनुसार, “यसपालि स्थानीय विद्यार्थीहरूको उत्साहप्रद सहभागिता छ। ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन्, जसलाई १००% छात्रवृत्तिसहित कलेजमा भर्ना गरिनेछ।”
पण्डितले थपे, “हामी गुणस्तरीय शिक्षाको पक्षमा छौं, त्यसैले विद्यार्थी छनौटका लागि निष्पक्ष र स्तरीय मापदण्ड अपनाएका छौं। अभिभावक र विद्यार्थीको विश्वासले हामीलाइ अझ प्रेरित बनाएको छ।”
कलेजका अध्यक्ष पप्पु अन्सारीले भने, “हामी शिक्षा मात्रै होइन, भविष्य बनाउने अभियानमा छौं। होटल म्यानेजमेन्टजस्ता व्यावसायिक कार्यक्रमहरूप्रति विद्यार्थीको चासो दिनदिनै बढ्दो छ, जुन हाम्रो शिक्षण पद्धति र प्रयोगात्मक तालिमको प्रतिफल हो।”
उनले थप स्पष्ट पारे, “हामीले रोजगारीमुखी शिक्षा दिन चाहेका हौं। त्यसका लागि अनुभवी शिक्षक, व्यवस्थित प्रयोगशाला, आधुनिक कक्षा कोठा र विदेशसमेत अवसर दिने वातावरण निर्माण गरेका छौं।”
यस वर्षको भर्ना प्रक्रिया अत्यन्तै प्रतिस्पर्धात्मक भएको भन्दै कलेजले छिट्टै अन्तिम नतिजा प्रकाशन गरी कक्षा सञ्चालनको तयारी थाल्ने जनाएको छ।
View : 445
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved