विराटनगर – कोशी अस्पतालले निःसन्तान दम्पतीका लागि इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सुरु गरेको छ । संघीय राजधानी बाहिर सरकारी अस्पतालमा यस प्रकारको क्लिनिक सञ्चालन भएको यो पहिलोपटक हो ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाका अनुसार सेवा सञ्चालनपछि निजी क्लिनिक धान्न नसक्ने गरिब तथा विपन्न वर्गका दम्पतीलाई राहत मिलेको छ । “हामीले सरकारी अस्पतालमै सर्वसुलभ शुल्कमा सेवा सुरु गरेका हौँ,” उनले भनिन्, “तर अझै धेरैलाई निःसन्तान क्लिनिकको बारेमा पर्याप्त जानकारी पुग्न सकेको छैन ।”
अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत आइयुआईसहित परामर्श, परीक्षण र प्रारम्भिक उपचार सेवा उपलब्ध हुने गरिएको छ । विभाग प्रमुख डा. अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा. मधुमिता राणाको नेतृत्वमा क्लिनिक सञ्चालन भइरहेको छ ।
डा. अञ्जुदेवका अनुसार कोशी अस्पतालले प्रसूति गृह अस्पताल सरहको शुल्क तोकेको छ । “निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढी लाग्ने आइयुआई सेवा हामीले करिब ६ हजार रुपैयाँमै उपलब्ध गराइरहेका छौँ,” उनले भने, “यसले विशेषगरी मध्यम आय वर्गका दम्पतीलाई ठूलो राहत दिएको छ ।”
अस्पतालका अनुसार स्वास्थ्य बीमामा आबद्धले धेरैजसो परीक्षण र उपचार सुविधा बिमामार्फत नै पाउनेछन् । “हाम्रो प्रयास सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिनु हो,” डा. अञ्जुदेवले बताए ।
चिकित्सकका अनुसार निःसन्तानपनको उपचारमा आइयुआई प्रारम्भिक चरणमा प्रयोग हुने प्रविधि हो । पुरुषमा शुक्राणु कमी वा गुणस्तर कमजोर हुने, महिलामा अण्डा उत्पादनमा समस्या आउने वा महिनावारी अनियमित हुने अवस्थामा यो विधिबाट उपचार सम्भव हुन्छ । सफलतापूर्वक सञ्चालन भएपछि अस्पतालले आगामी दिनमा इन–भिट्रो फर्टिलाइजेसन (आइभीएफ) सेवा पनि सुरु गर्ने तयारी गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्ने गरेको छ भने नेपालमा पनि १०–१५ प्रतिशत दम्पती यस समस्याबाट पीडित छन् ।
कोशी अस्पतालले सुरु गरेको यो क्लिनिकले उपचार मात्र नभई प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने, मानसिक–भावनात्मक सहयोग पुर्याउने र निःसन्तानपनसँग जोडिएको सामाजिक दबाब कम गर्न योगदान गर्ने अपेक्षा गरिएको छ ।
View : 126
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved