फुटबलमा नयाँ अध्याय
काठमाडौं, २८ असार
चार वर्षपछि नेपाल फुटबलले फिफाको ‘कन्ट्रोल फन्डिङ’बाट मुक्ति पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) माथि २०२१ मा लगाइएको आर्थिक नियन्त्रण फिफाले बिहीबार हटाएको हो ।
आर्थिक अपारदर्शिता र भ्रष्टाचारको आशंकामा फिफाले २०२१ को मार्चदेखि एन्फाको आर्थिक कारोबार आफ्नै निगरानीमा राख्दै आएको थियो । बिहीबार बसेको फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले एन्फाको हालको सुधारमाथि विश्वास गर्दै नियन्त्रण अन्त्य गर्ने निर्णय गरेको हो ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले शनिबार विज्ञप्ति जारी गर्दै यो निर्णयलाई ‘पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धताको परिणाम’ बताएका छन् । “निर्वाचनपछि थालिएको सुधार यात्रा निर्णायक मोडमा पुगेको छ,” विज्ञप्तिमा भनिएको छ, “अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय लेखा मानकमा रुपान्तरण गर्न फिफासँगको सहकार्य निर्णायक रह्यो ।”
एन्फामाथि पछिल्लो समय भइरहेका आलोचनाबारे पनि विज्ञप्तिमा प्रतिक्रिया दिँदै भनिएको छ, “पूर्वाग्रही र स्वार्थ समूहहरूले विकासमा अवरोध गर्न खोजे पनि सत्यले विजय पाएको छ । कामले जवाफ दिइन्छ ।”
गत वर्ष एन्फा एएफसीबाट ‘गोल्ड अवार्ड’ प्राप्त गरेको थियो भने महिला तथा पुरुष राष्ट्रिय टोलीहरूले पछिल्ला अन्तर्राष्ट्रिय खेलमा ऐतिहासिक प्रदर्शन गरेका थिए ।
फिफाको निर्णयसँगै एन्फाले ग्रासरुटदेखि ए डिभिजनसम्मका सबै प्रतियोगिता नियमित सञ्चालन गर्ने तयारी थालेको जनाएको छ । काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले दिएको सहयोग आश्वासनमा आभार व्यक्त गर्दै एन्फाले आफ्नै रंगशाला चाँडै बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
View : 174
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved