Biratnagar, Morang, Nepal
सामाजिक सेवा

विराटनगरमा चौथो मङ्गल स्मृति ‘प्रणामी कप’ फुटसल आयोजना हुँदै

-
अखवारका कुरा
४ मंसिर २०८२, बिहिवार

Advertisement

विराटनगर - श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, कोशी प्रदेश कार्यसमितिको आयोजनामा चौथो मङ्गल स्मृति प्रदेशस्तरीय ‘प्रणामी कप’ फुटसल प्रतियोगिता आगामी मङ्सिर ६ गते विराटनगर ३ स्थित विराट फुटसल जोन मा हुने भएको छ। प्रदेशस्तरमै स्थापित प्रतिष्ठित प्रतियोगिता मानिने ‘प्रणामी कप’ यसपटक विराटनगरमा आयोजना हुन लागेको हो। प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा.स विराटनगरले गर्ने विराटनगर अध्यक्ष राज ढकालले जानकारी दिएका छन ।

प्रतियोगिताको पहिलो संस्करण इटहरीमा, दोस्रो इलाममा र तेस्रो दमकमा सम्पन्न भइसकेको छ ।  प्रदेशका विभिन्न शहरमा निरन्तर हुँदै आएको यो प्रतियोगिता चौथो संस्करणमा आएर विराटनगरमा केन्द्रित हुनुलाई आयोजकले खेलकुदमै युवाको सहभागिता र उत्साह बढेको संकेतका रूपमा व्याख्या गरेका छन्।

आयोजक समितिका अनुसार यस वर्षको प्रतियोगितामा प्रदेशभरिका विभिन्न फुटसल टोलीहरूको सहभागिता रहनेछ। खेलाडी, प्रशिक्षक, प्राविधिक तथा दर्शक गरेर करिब ३०० जनाको उपस्थितिको अनुमान गरिएको छ। प्रतियोगिताले प्रदेशका फुटसल खेलाडीलाई एकै मैदानमा प्रतिस्पर्धा र आपसी मैत्रीता बढाउने महत्वपूर्ण अवसर प्रदान गर्ने आयोजकहरूको अपेक्षा छ।

प्रतियोगिता सञ्चालनका लागि करिब दुई लाख ५० हजार रुपैयाँ खर्च हुने र  स्थानीय स्तरमा खेलकुद पूर्वाधार तथा प्रतिभा विकासलाई लक्षित गर्दै गरिएको यो लगानीले फुटसल क्षेत्रलाई अझ व्यवस्थित बनाउन सहयोग पुर्‍याउने प्रदेश अध्यक्ष यज्ञ ढकालले जानकारी दिए ।

‘प्रणामी कप’लाई प्रदेशस्तरमा स्थापित र विश्वसनीय खेलकुद ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य आयोजकको छ। युवाहरूलाई खेलतर्फ आकर्षित गर्दै अनुशासन, स्वस्थ प्रतिस्पर्धा र सकारात्मक सामाजिक ऊर्जा प्रवाह गराउने उद्देश्यसहित प्रतियोगिता अघि बढाइएकाे आयोजकको भनाइ छ।

View : 198

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved