Biratnagar, Morang, Nepal
स्थानीय तह

बुढीगंगाको ७६ करोडको बजेट

समृद्ध बुढीगंगाको खाका : ७६ करोडको बजेट, जनमुखी योजनाहरूमा केन्द्रित नीति तथा कार्यक्रम

-
अखवारका कुरा
१० असार २०८२, बुधवार

Advertisement

बुढीगंगा, मोरङ – बुढीगङ्गा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ७६ करोड ३० लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
 गाउँसभाको १६औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले सार्वजनिक गरेका नीति तथा कार्यक्रमले समावेशी, उत्तरदायी र विकासमुखी स्थानीय शासनतर्फको स्पष्ट संकेत दिएको छ।

गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पर्यटन, पूर्वाधार र सामाजिक सुरक्षामा केन्द्रित देखिन्छ।
 कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउँदै आधुनिक प्रविधिमा आधारित यान्त्रिकीकरण, सामूहिक तरकारी खेती, चुकन्दर प्रवर्द्धन, भेटेरिनरी अस्पताल र गाई प्रवर्द्धन कार्यक्रममार्फत कृषकको आम्दानी बढाउने लक्ष्य लिइएको छ।

शिक्षा क्षेत्रमा डिजिटल पहुँच, विषयगत शिक्षकको अनिवार्यता र दलित समुदायका छात्रालाई पूर्ण छात्रवृत्तिद्वारा समावेशी शिक्षाको अभ्यास गरिनेछ भने स्वास्थ्यतर्फ बीमा कार्यक्रमलाई निरन्तरता दिँदै डिजिटल अभिलेखिकरण र सस्तो औषधि पसल सञ्चालनमार्फत सेवा प्रभावकारिता बढाइनेछ।

युवाशक्ति र खेलकुदलाई दिगो विकासको मेरुदण्ड ठान्दै युवा सम्मेलन, सिप विकास तालिम, रोजगार बैंक, युथ जोन र फुटबल एकेडेमी स्थापना गरिनेछ। पर्यटन प्रवर्द्धनका लागि स्थानीय धार्मिक, सांस्कृतिक स्थलको संरक्षण र प्रचारप्रसारमार्फत आन्तरिक पर्यटक तान्ने योजना बनाइएको छ।

पूर्वाधार निर्माण र सार्वजनिक सेवामा सुधारको लक्ष्यसहित प्रशासकीय भवन निर्माण, सडक बत्ती विस्तार र ‘उज्यालो बुढीगंगा अभियान’ अघि बढाइनेछ। विपन्न र श्रमिक वर्गलाई लक्षित गर्दै इन्डक्सन चुलो वितरण, विद्युत तथा खानेपानीमा राहत, कर छुट र सामाजिक सुरक्षामा पहुँच विस्तार जस्ता कार्यक्रमहरू नीति भित्र समेटिएका छन्।

बुढीगंगाले यस वर्षको नीति तथा कार्यक्रममार्फत समृद्धिको खाका मात्र कोरेको छैन, कार्यान्वयनमै दृढता देखाएको छ।

 शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीजस्ता आधारभूत क्षेत्रमा ठोस लगानी र दीर्घकालीन सोचसहित अघि बढ्न लागेको बुढीगंगाको यो प्रयास स्थानीय सरकारको उदाहरणीय अभ्यास बन्न सक्ने सम्भावना बोकेको छ।

View : 123

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved