कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी
विराटनगर — गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायका प्रमुखहरूलाई ३० दिनभित्र तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा विराटनगरमा सुरु भएको कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले तस्करी नियन्त्रणका लागि रणनीति बनाउन र आमनागरिकलाई सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिए।
“तस्करीका कारण सीमापार अपराध बढेको छ, राजस्व गुमिरहेको छ र वैध व्यवसायीहरू पलायन हुन बाध्य छन्,” गृहमन्त्री लेखकले भने, “६० दिनभित्र यो समस्या नियन्त्रण नगरे जिम्मेवार व्यक्तिलाई कारबाही गरिनेछ।”
उद्योगी व्यवसायीहरूले भारतीय बजारमा तस्करीको सामानले गर्दा नेपाली बजारमा मन्दी आएको गुनासो गरेपछि गृहमन्त्री लेखकले तस्करी नियन्त्रणमा सरकारले कडा कदम चाल्ने स्पष्ट पारे। “केही व्यक्ति रातारात धनी भइरहेका छन् भने कानुनी रूपमा व्यापार गर्नेहरू समस्यामा परेका छन्। यस्तो अवस्था सह्य हुँदैन,” उनले थपे।
संविधानविपरीतका गतिविधिमा कडा कदम
गृहमन्त्री लेखकले संविधान र व्यवस्थाविपरीतका कुनै पनि गतिविधि सह्य नहुने भन्दै कठोर कारबाहीको चेतावनी दिए। “लोकतन्त्रको विकल्प अरू केही हुँदैन,” उनले भने, “संविधानविपरीतका गतिविधि सह्य गरिनेछैन।”
शान्ति सुरक्षा पहिलो प्राथमिकता
देशको पहिलो प्राथमिकता आन्तरिक शान्ति सुरक्षा रहेको उल्लेख गर्दै उनले कुनै सम्झौता नगर्न निर्देशन दिए। “शान्ति सुरक्षा कायम नभएसम्म विकास र समृद्धि सम्भव छैन,” उनले भने।
नयाँ अपराध नियन्त्रणमा जोड
गोष्ठीमा गृहमन्त्रीले साइबर क्राइम, लागूऔषध ओसारपसार, सवारी दुर्घटना र आत्महत्याका घटनामा नियन्त्रण गर्न कडा कदम चाल्न निर्देशन दिए। “दैनिक ७ जनाको सवारी दुर्घटनामा मृत्यु र १७ जनाले आत्महत्या गरिरहेका छन्। यस्तो स्थिति तत्काल रोक्नुपर्छ,” उनले भने।
विपद् व्यवस्थापनमा सजग रहन निर्देशन
विपद् न्यूनीकरण, जोखिम पहिचान र पुनःस्थापनामा सुरक्षा निकायलाई गम्भीर हुन आग्रह गर्दै उनले भने, “विपद्मा नागरिकको ज्यान जोगाउन र पुनःस्थापनामा कुनै कसर बाँकी राख्न मिल्दैन।”
मुख्यमन्त्रीको चिन्ता
गोष्ठीमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जातीय र धार्मिक विवादले प्रदेशमा शान्ति सुरक्षामा असर पुर्याएको बताए। “विकास निर्माणका योजनामा पनि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ,” उनले भने।
गोष्ठीमा व्यापक सहभागिता
गोष्ठीमा गृह मन्त्रालयका सचिव दामोदर दवाडी, कोशीका प्रमुख सचिव चन्द्रकला पौडेल, प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र नेपाली सेनाका प्रमुखहरूको उपस्थिति थियो। १४ वटै जिल्लाका सुरक्षा निकाय प्रमुखहरूले आ–आफ्ना जिल्लाका सुरक्षा चुनौतीबारे प्रस्तुति दिएका थिए।
View : 263
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved