Biratnagar, Morang, Nepal
प्रदेश

कोशी प्रदेश लगानी सम्मेलन

कोशी प्रदेशमा लगानीको सुनौलो अवसर : प्रधानमन्त्री ओली

“यहाँ आवश्यक पूर्वाधार निर्माण भइसकेका छन्, लगानीकर्तालाई कुनै असुविधा हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “उद्योग, व्यापार तथा पर्यटनका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना छन्।” उनले एसियाली मापदण्डअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति भइरहेको, हुलाकी र मदन भण्डारी राजमार्गले व्यापारिक सहजता थपेको उल्लेख गरे।
-
अखवारका कुरा
१८ वैशाख २०८२, बिहिवार

Advertisement

विराटनगर— प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन्। विराटनगरस्थित वीरेन्द्र सभागृहमा बिहीबार आयोजित कोशी प्रदेश लगानी सम्मेलन–२०२५ को उद्घाटन गर्दै उनले प्रदेशमा शान्ति–सुरक्षाको अवस्था सुदृढ भएकाले अब लगानीको उचित समय आएको बताए।

“यहाँ आवश्यक पूर्वाधार निर्माण भइसकेका छन्, लगानीकर्तालाई कुनै असुविधा हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “उद्योग, व्यापार तथा पर्यटनका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना छन्।” उनले एसियाली मापदण्डअनुसार पूर्व–पश्चिम राजमार्ग स्तरोन्नति भइरहेको, हुलाकी र मदन भण्डारी राजमार्गले व्यापारिक सहजता थपेको उल्लेख गरे।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले श्रमिक, उद्यमी र सरकारबीच आपसी समन्वय राम्रो रहेकाले ‘आइएलओ’ को सिद्धान्तअनुसार सरकार अघि बढिरहेको प्रष्ट पारे। “यहाँ श्रमिकसँग झन्झट छैन, विवाद छैन,” उनले भने।

धार्मिक, प्राकृतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा कोशी प्रदेश उपयुक्त गन्तव्य रहेको प्रधानमन्त्रीको भनाइ थियो। “युवाले अब विदेश होइन, स्वदेशमै उद्यम गर्नुपर्ने समय आएको छ,” उनले भने, “सरकारले ब्याज अनुदान वा कम ब्याजमा ऋणको सुविधा दिँदै लगानीलाई प्रोत्साहन गर्नेछ।”

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा पहिलोपटक लगानी सम्मेलन भएको जनाउँदै यसले राष्ट्रिय पूँजी निर्माण र रोजगारी सिर्जनामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। “एक खर्बभन्दा बढी पुँजी परिचालन हुने अपेक्षा गरिएको छ,” उनले भने, “स्वदेशी, विदेशी र गैरआवासीय नेपाली लगानीकर्ताको आकर्षण बढेको छ।”

उनका अनुसार आठ वटा क्षेत्रमा ७१ परियोजना सञ्चालनको तयारी भइरहेको छ। “नीतिगत स्पष्टता तथा लगानी सुरक्षाको प्रतिवद्धता सरकारबाट भइसकेको छ,” उनले स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरू कोशी प्रदेशप्रति उत्साहित भएको उल्लेख गर्दै स्थानीय तह र राजनीतिक दलको सहयोग अपेक्षित रहेको धारणा राखे।

View : 46

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved