सन्दीप लामिछानेको निर्णय
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौतालाई यस पटक निरन्तरता नदिने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन्।
सन्दीपले लेखेका छन्, “धेरै सोचविचारपछि, मैले यस पटकका लागि केन्द्रीय सम्झौता नगर्ने निर्णय गरेको छु। यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने होइन, बरु व्यक्तिगत र व्यावसायिक रूपमा आफूलाई अझ विकसित गर्नका लागि हो।”
उनले क्यानसँगको सम्झौतामा नबसे पनि आफ्नो क्रिकेट यात्रा जारी रहने स्पष्ट पारेका छन्। लामिछानेले आफ्नो करियरको यस यात्रामा क्यानको भूमिकालाई महत्त्वपूर्ण बताउँदै क्यानलाई आभार प्रकट गरेका छन्।
उनले थप लेखेका छन्, “मेरो यात्रामा निरन्तर साथ र समर्थनका लागि क्यानलाई धन्यवाद। नेपाल क्रिकेट र मेरो व्यक्तिगत विकासमा क्यानको भूमिका सदैव स्मरणीय रहनेछ। म आगामी दिनका लागि अझ बढी उत्साहित छु। अझै धेरै सिक्न र गर्न बाँकी छ।”
लामिछानेले यो निर्णयले आफ्नो देशप्रतिको वफादारीलाई कुनै पनि प्रकारले असर नगर्ने भन्दै राष्ट्र र खेलप्रतिको जोशमा आफू सधैं केन्द्रित रहने बताएका छन्।
View : 279
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved