Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

अपाङ्गता मैत्री लिफ्ट भ्यान जलाइयो: समावेशीता र मानवतामाथिको आक्रमण

-
आकृती रानी फुयल
२ असोज २०८२, शुक्रवार

Advertisement

ललितपुर महानगरपालिका र अपाङ्गता भएका ब्यक्तिहरुद्वारा अपांगता भएका ब्यक्तिहरुको सहज अनि स्वावलम्बन जिवनयापन गराउने उद्देश्य सहित ललितपुरमा संचालित  स्वावलम्बन जीवन पद्धति केन्द्रको सहकार्यमा अपांगता भएका ब्यक्तिहरुको सहज आवतजावत का लागि बिगत ५"वर्षदेखि सञ्चालनमा ल्याइएको पहुँचयुक्त अपाङ्गतामैत्री लिफ्ट भ्यान हालै “जेन जि!” आन्दोलनको क्रममा आन्दोलनकारीहरूले जलाइदिएपछि पुर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूमा गहिरो पीडा र आक्रोश व्याप्त भएको छ।

यो लिफ्ट भ्यान केवल एक साधन मात्र थिएन। यो त थियो  अपाङ्गता भएका व्यक्तिहरूका लागि सुरक्षित, सुलभ, र सम्मानजनक आवागमनको माध्यम। विशेषतः सार्वजनिक यातायातमा पहुँच नभएका, ह्वीलचियर  प्रयोगकर्ता , दृष्टि सम्बन्धि अपाङ्गता , सहज ढङ्गबाट आफ्नो दैनिक जिवनयापन गर्न नसक्ने ब्यक्तिहरु  वा अन्य गम्भीर अपाङ्गता भएका नागरिकहरूका लागि यो एक जीवनरेखा सरह थियो।

आन्दोलनको नाममा अन्धविनाश?

जेन जि आन्दोलनका मागहरू जे भए पनि, यसरी सर्वसाधारण र संवेदनशील समुदायलाई असर पार्ने काम गर्नु आन्दोलन होइन  यो मानवतामाथिको आक्रमण हो। कुनै पनि परिवर्तनप्रतिको संघर्षले उत्तरदायी व्यवहार र चेतनशीलता माग गर्छ। तर जब त्यही संघर्षले सबैभन्दा कमजोर वर्गलाई अझ कमजोर बनाउँछ, तब त्यसको औचित्यमाथि प्रश्न उठ्छ।

 अपाङ्गता भएका व्यक्तिहरूको पीडा-
भ्यान जलेको खबरले धेरै अशक्त नागरिकहरूको आँखामा आँसु ल्याएको छ। उनीहरू भन्छन्:
‌"हामीकहाँ यस्तो साधन पहिलो पटक आएको थियो। अब फेरि कसरी बाहिर निस्कने?"
‌"भोक लाग्दा, अस्पताल जानुपर्दा वा काममा जानुपर्दा यही भ्यान हाम्रो सहारा थियो।"
यो एक भौतिक गाडी मात्र नभएर, एक आत्मबल, एक सम्मान र एक अवसर थियो।

अब के गर्नुपर्छ?
यथाशीघ्र नयाँ भ्यानको व्यवस्था गरियोस्:
ललितपुर महानगरपालिका र सम्बन्धित निकायहरूले यो क्षति प्रति गम्भीर ध्यान दिँदै नयाँ लिफ्ट भ्यान तत्काल उपलब्ध गराउनुपर्छ।

कानुनी कारबाही होस्:
सार्वजनिक सम्पत्तिको क्षति मात्र होइन, संवेदनशील वर्गको जीवन प्रभावित पार्ने यस्ता कार्यहरूलाई कानुनी जिम्मेवारीमा ल्याउनु आवश्यक छ।

सामाजिक चेतना अभिवृद्धि गरियोस्:
समावेशी समाज निर्माणका लागि अपाङ्गता र पहुँचको विषयमा जनचेतना फैलाउनुपर्ने खाँचो अझ तीव्र भएको छ।
अन्त्यमा बिर्सिन नहुने कुरा ,समावेशीता भनेको भाषण होइन, व्यवहार हो। सशक्त समाज तब मात्र सम्भव हुन्छ जब हामी सबैलाई सम्मान, पहुँच र बराबरीको अवसर दिन सक्छौं।अपाङ्गतामैत्री लिफ्ट भ्यान जलाउनु केवल एउटा साधन जलाउनु होइन, समावेशी नेपालप्रतिको सपनामै आगो लगाउनु हो। अब समय आएको छ पुन: उठ्ने,  पुननिर्माण गर्ने र फेरि समावेशी आवाजलाई अझ बुलन्द बनाउने।
(संस्थाका अध्यक्ष अपाङ्गता अधिकारकर्मी  भोजराज श्रेष्ठसङ्ग  प्रत्यक्ष कुराकानीका आधारमा  तयार गरिएको ।)

View : 162

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved