काठमाडौं — भगवान् श्रीकृष्णको पूजा आराधना गरी आज देशभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।
यस अवसरमा देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। पूजाआजासहित प्रवचन, भजन–कीर्तन, व्रत बस्ने र रातभर जाग्राम बस्ने परम्परा रहेको छ।
पाटन दरबार क्षेत्रको प्रसिद्ध कृष्ण मन्दिरमा बिहानैदेखि मेला लागेको छ भने पशुपति क्षेत्र, वसन्तपुर दरबार क्षेत्रसहित विभिन्न स्थानका कृष्ण मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको छ।
विभिन्न धार्मिक सङ्घसंस्थाले झाँकीसहित शोभायात्रा र रथयात्रा निकाल्ने परम्परा पनि छ। अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले भाद्रकृष्ण नवमीका दिन रथयात्रा निकाल्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो।
View : 315
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved