Biratnagar, Morang, Nepal
देश

जेनजी आन्दोलन

जेन–जी समूहको निष्कर्ष : अन्तरिम नेतृत्वमा सुशीला कार्की

-
अखवारका कुरा
२४ भदौ २०८२, बुधवार

Advertisement

करिब चार घण्टा लामो भर्चुअल बैठकपछि जेन–जी समूहले तत्कालका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वका रूपमा अघि सार्ने निष्कर्ष निकालेको छ।

बैठकमा सहभागीहरूले स्पष्ट अडान राखे , वार्ताका लागि जाने व्यक्तिमा कुनै राजनीतिक गन्ध नआउनु पर्नेछ। यस क्रममा हाल नागरिक अभियन्ता समेत रहेकी कार्कीलाई “सबैले स्वीकार्ने, निष्पक्ष र साझा नेतृत्व” का रूपमा अघि सारिएको हो।

बैठकमा एक सहभागीले भने, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ। त्यसपछि बालेनन्द्र र सागर ढकाल पनि विकल्पमा हुनुहुन्छ। तर अहिले अन्तरिम सरकारको नेतृत्व गर्न कार्की नै उपयुक्त देखिन्छ।”

उनका अनुसार, यदि कार्की अतीतमा कुनै दलमा संलग्न रहेकी थिइन् भने त्यो संलग्नता त्याग्नुपर्ने सर्त पनि राखिएको छ। सहभागीहरूले थपे, “कार्कीभन्दा अहिले अर्को सक्षम व्यक्तित्व देखिँदैन। उनको नाम सार्वजनिक गरौँ, नोटिस जारी गरौँ।”

जेन–जी समूहले छलफलमा सर्वमान्य एजेन्डा को आवश्यकता जोड दिएको छ। “नेतृत्व साझा मात्र होइन, सबैले पत्याउने र विवादरहित हुनुपर्छ,” बैठकको निष्कर्षमा भनिएको छ।

यसअघि भने प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्ने सुझाव दिएका थिए भन्ने खुलासा भएको छ।

View : 205

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved