विधार्थीको प्रतिभा उजागर गर्दै कोबास
विराटनगर, श्रावण २
विराटनगरस्थित कोबास कलेजमा शुक्रबार ‘विदेश पलायन : अवसर कि संकट’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विभिन्न कक्षाका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिई आफ्ना विचारहरू प्रष्ट रूपमा राखेका थिए।
कार्यक्रमको सभापतित्व कलेजकी प्रिन्सिपल प्रिया सारडाले गरेकी थिइन्। निर्णायकको भूमिकामा देवराज न्यौपाने र अनुराज पाठक रहेका थिए भने रत्ना होटल तथा सास्थम कलेजकी संचालक जिना थापा विशेष अतिथिका रूपमा उपस्थित थिइन्।
प्रतियोगितामा दुर्गा मण्डल प्रथम भइन्। दोस्रो स्थानमा साहिन खातुन रहिन् भने समीक्षा अधिकारी तेस्रो भएकी थिइन । विजेताहरुलाई कलेजका तर्फबाट पुरस्कार प्रदान गरिएको थियो।
प्रीन्सिपल सारडाले प्रतियोगिताको उद्देश्यबारे बोल्दै विदेश जानु अवसर हो कि संकट भन्ने कुरा व्यक्तिको सोच, योजना र तयारीमा निर्भर हुने बताइन्। “यदि तयारीसहित जान सकियो भने विदेश अवसर हो, तर सोचबिचार नगरी निस्कनु संकट बन्न सक्छ,” उनले भनिन्। साथै, विद्यार्थीहरूको सोचाइ, प्रस्तुति र आत्मविश्वास विकासका लागि कलेजले यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
विशेष अतिथि जिना थापाले पनि यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो कुरा खुलस्त राख्न र आत्मविश्वास बढाउन मद्दत गर्ने बताउँदै कलेजलाई धन्यवाद दिइन्।
निर्णायक अनुराज पाठकले सहभागी सबै विद्यार्थीहरूलाई बधाई दिंदै भने, “आजको प्रतिस्पर्धा हारजितको भन्दा पनि सिकाइको अवसर हो। विदेश जानु अघि केवल सपनामात्र नदेखेर सीप, शिक्षा र योजना बनाउनुपर्छ। देशमै केही गर्न सकिने उपायबारे सोच्नुपर्छ।” उनले विदेशमा अवसर छ तर सजिलो छैन भन्ने यथार्थ बुझ्न आग्रह गरे।
कोबास कलेजले समय–समयमा विद्यार्थीहरूको सिर्जनात्मकता, प्रस्तुति क्षमता र विचार व्यक्त गर्ने कला विकासका लागि यस्ता कार्यक्रम आयोजना गर्दै आएको कलेजले जनाएको छ।
View : 667
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved