स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित पुस्तक ‘गर्भको गर्व’ बारेको बिमर्श तथा परिचर्चा कार्यक्रम शनिबार इटहरीमा सम्पन्न भएको छ। नेपालबिट मिडिया प्रा.लि.को आयोजनामा र गाेदावरी विद्या मन्दिरकाे सहयाेगार्थ, माइतिघर क्याफेमा धरान रोडमा आयोजित कार्यक्रममा ३५ जना भन्दा बढी साहित्यकार एवं सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा नेपालबिट मिडियाका अध्यक्ष तथा लेखक रामप्रसाद खरेलले अध्यक्षता गरेका थिए भने कवि मनु मन्जिल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। डा. इन्दिरा मिश्र र इन्दु नेपाल योञ्जन समीक्षकका रूपमा रहेका थिए। कार्यक्रमको सञ्चालन उषाकिरण घिमिरेले गरेकी थिइन्।
लेखकको स्कुले मित्रबाट मार्मिक परिचय
कार्यक्रममा गोदावरी विद्या मन्दिरका अध्यक्ष कमल कोइरालाद्वारा लेखकको भावनात्मक तथा प्रेरक जीवनपरिचय प्रस्तुत गरियो। डा. साहसँग एउटै कोठामा बसेर पढेको अनुभव सुनाउँदै उनले भने,
“गोदावरी विद्या मन्दिरको पहिलो व्याचका पहिलो चिकित्सक र लेखकका रूपमा डा. साह हाम्रो विद्यालय परिवारका लागि स्वेम गर्व हुन्।”
कथाले उठाएका यथार्थप्रति समीक्षकहरूको जोड
समीक्षक इन्दु नेपाल योञ्जनले पुस्तकका कथाहरू समाजका विकृति, संस्कार र स्वास्थ्यका संवेदनशील पक्षसँग गहिरोसँग गाँसिएको बताए।
उनले भनिन्— “एक सफल र व्यस्त चिकित्सकले यति प्रभावकारी साहित्यिक कृति दिनु दुर्लभ कुरा हो। युद्ध जितेको रात कथाले त आङै सिरिङ्ग पार्दथ्यो।”
समालोचक डा. इन्दिरा मिश्रले पुस्तकलाई पूर्ण रूपमा गैरआख्यान भए पनि कथा यति जीवन्त सम्झनाहरूमा आधारित छन् कि कतै आख्यानजस्तै लाग्न सक्ने उल्लेख गरिन्।
“हाम्रो समाजका छोरीहरुलाई विदाइका बेलामा दाइजाेका रूपमा दिन लायक पुस्तक यही हो,” उनले भनिन्।
लेखकको भावनात्मक मन्तव्य
लेखक डा. साहले पुस्तकका कथाहरू कुनै सिद्धान्त वा ग्रन्थबाट होइन, अस्पतालका शैयामै देखिने पीडा, संघर्ष र मातृत्वको धाराप्रवाह कथाबाट जन्मिएको बताए।
“मातृमृत्यु घटाउने र समाजलाई संवेदनशील बनाउने चाहनाबाट यो पुस्तक लेखिएको हो,” उनले भने।
प्रमुख अतिथिको विशेष अभिव्यक्ति
कवि मनु मन्जिलले पुस्तकले ‘मानिस पहिले मान्छे बन्न सिकाउने’ बताउँदै प्रत्येक कथामा चिकित्सकको मानवीय रूप देखिएकोप्रति प्रशंसा गरे। उनले कार्यक्रममै छोरीहरूका लागि पुस्तक खरिद पनि गरे।
सम्मान र मायाको चिनो वितरण
गोदावरी विद्या मन्दिरले पहिलो व्याचका पहिलो चिकित्सक तथा लेखकका रूपमा डा. साहलाई सम्मानपत्र प्रदान गरेको थियो।
कार्यक्रमका वक्ताहरूलाई सीमाअभास, खगिन्द्र खुशी, छवि वैरागीलगायतका पुस्तकहरू मायाको चिनोस्वरूप प्रदान गरियो।
अध्यक्ष खरेलको समापन मन्तव्यसँगै कार्यक्रम सकिएको थियो।
View : 296
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved