लायन्सको सेवा
झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित वृहत् निःशुल्क स्वास्थ्य शिविरले एकै दिन एक हजारभन्दा बढी स्थानीयको स्वास्थ्य जाँच गर्दै उल्लेखनीय प्रभाव छोडेको छ।
दुर्गम बस्तीका सर्वसाधारणलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा १ हजार ९१ जनाले विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन्।
लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा, नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग तथा बुद्धशान्ति गाउँपालिका-१ को स्थानीय व्यवस्थापनमा बिहीबार नमुना आधारभूत विद्यालय परिसरमा शिविर सम्पन्न भएको हो।
शिविरमा नोवेल मेडिकल कलेजका वरिष्ठ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।शिविरमा सामान्य स्वास्थ्य परीक्षणसँगै भिडियो एक्स-रे, प्रयोगशाला परीक्षण तथा मुटु परीक्षण (ईसीजी) सेवा उपलब्ध गराइएको थियो। उपचारसँगै करिब ५ लाख रुपैयाँ बराबरका औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ, जसले आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपरेका स्थानीयलाई ठूलो राहत मिलेको छ।
स्थानीय आयोजक बुद्धशान्ति गाउँपालिका-१ का वडाध्यक्ष अनिल वाग्लेको सक्रिय समन्वयमा शिविर प्रभावकारी रूपमा सम्पन्न भएको लायन्स क्लब अफ विराटनगर सोसियलले जनाएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाईं र उपाध्यक्ष भवानी खतिवडाको उपस्थितिले स्थानीयस्तरमा स्वास्थ्य सचेतना र सेवाप्रतिको गाउँपालिकाको प्रतिबद्धता देखिएको थियो ।
औषधि व्यवस्थापनमा क्युमेड फर्मुलेसन प्रालि,विराटनगरवाट कुमार खतिवडा, धरानबाट जे.एन. गुप्ता, एशियन फर्मास्युटिकल प्रालि तथा डाक्टर सी.पी. उपाध्यायले सहयोग गरेका थिए।
लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष लायन लिला ढुंगेलले ग्रामीण भेगका नागरिकलाई लक्षित यस्ता सेवामूलक कार्यक्रमलाई आगामी दिनमा अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य सेवामा पहुँच कमजोर मानिने क्षेत्रमा गरिएको यो शिविरलाइ स्थानीयले ‘जीवन्त राहत’का रूपमा लिएको र धेरै स्थानीयले आफ्नो रोगका वारेमा जान्ने र बुझ्ने र सहज उपचार गर्ने अवसर प्राप्त भएको स्थानीय जनताको धारणा रहेको छ।
View : 59
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved