आजबाट विश्वभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा आरम्भ भएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय नारा:
“United to End Digital Violence Against All Women & Girls”
डिजिटल संसारमा दिन–प्रतिदिन बढ्दै गएको हिंसा, दुरुपयोग र अनलाइन उत्पीडनविरुद्ध एकजुट भएर उभिन सबैलाई आह्वान गर्दछ।
नेपालमा यस अभियानको राष्ट्रिय नारा:
“प्रबिधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ।”
यही संदेशलाई आत्मसात गर्दै, हामी सबैले हातेमालो गरेर समानता, सम्मान र सुरक्षित समाज निर्माणतर्फ अघि बढ्ने प्रतिज्ञा गर्नु आजको आवश्यकता बनेको छ।
किन अझै पनि सोच्न बाध्य बनाइन्छ?
• किन हामी अझै पनि सयौँ पटक सोच्न बाध्य हुन्छौँ?
• किन समाजमा लैङ्गिक विभेदको अदृश्य पर्खाल पटक–पटक पुनर्जीवित हुन्छ?
• किन जात–पातको विभेदले हाम्रो समाजलाई आज पनि चिरिरहेको छ?
• किन धनी–गरिबको दूरी अझै पनि यति फराकिलो छ?
• किन अपाङ्गता भएका र नभएका व्यक्तिप्रति दृष्टिकोण अझै पनि फरक–फरक छ?
चाहे व्यक्ति अपाङ्गता भएका होस वा नहोस्, पुरुष, महिला, बालबालिका वा अन्य पहिचान अन्ततः हामी सबै मानव नै हौं, र प्रत्येक मानवको मानवीय अधिकार जन्मसिद्ध हक हो।
हामीलाई रोकिन बाध्य पार्ने को हो?
• के म स्वयं?
• के मेरो परिवार?
• के हाम्रो समाज?
• कि सिंगो राज्य र शासन संरचना?
अब प्रश्न मात्र गर्ने समय सकिएको छ र उत्तर खोज्ने, आवाज उठाउने, कदम चाल्ने र परिवर्तन आरम्भ गर्ने समय आएको छ।
परिवर्तन कसैले आएर गरिदिन्छ भन्ने अपेक्षा फिर्ता नआउने आशाको बाली रोपेजस्तै हो। किनकि परिवर्तन मबाट सुरु हुन्छ, तपाईँबाट सुरु हुन्छ, हामी सबैबाट सुरु हुन्छ।
हामी आफैँ चलायमान नभएसम्म न त समाज चल्छ, न परिवर्तन सम्भव हुन्छ। त्यसैले आजै यही क्षण म परिवर्तनको बाटो समाउने प्रतिज्ञा गर्दछु। उही प्रतिज्ञा जो समाजलाई मानवताको सूत्रमा बाँध्छ, प्रेम र सहानुभूतिले मजबुत बनाउँछ, समता र न्यायले उज्यालो पार्छ।
१६ दिन होइन जीवनभरको चेतना:
आजबाट सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान हामी सबैको साझा जिम्मेवारी हो। तर यसलाई १६ दिनमै सीमित गर्नु दैनिक जीवनका वास्तविक चुनौतीहरूको अपमान सरह हुनेछ। यो अभियान त हरेक दिन, हरेक क्षण, हाम्रो सोच, व्यवहार, मन र कर्ममा बसोबास गर्नुपर्ने चेतना हो। विभेद, हिंसा र अन्यायमुक्त समाज निर्माण कुनै एक वर्ग, संस्था वा व्यक्तिको काम होइन यो त हामी सबैको सामूहिक यात्राको नाम हो।
अन्त्यमा, समानता र न्यायका लागि उठेका सबै हातहरूलाई, विपन्न र पीडितका पक्षमा उठेका सबै आवाजहरूलाई, र परिवर्तनका लागि जलिरहेका सबै मनहरूलाई हार्दिक शुभकामना।
आऔं आज, यही क्षण, यही अभियानको नाममा परिवर्तनको दीप पुनः प्रज्वलित गरौँ।
View : 146
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved