Biratnagar, Morang, Nepal
खेलकुद

विराट गोल्डकप फाइनलअघि सम्राट स्पोर्टिङका दुई खेलाडी ‘भगाइएको’ आरोप, एन्फा सदस्यमाथि षड्यन्त्रको आशंका

-
अखवारका कुरा
६ वैशाख २०८३, आइतवार

Advertisement

विराटनगर । विराटनगरमा जारी ३८औं संस्करणको विराट गोल्डकपमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबविरुद्ध नेपाल फुटबल संघ एन्फाका एक सदस्यले षड्यन्त्र गरेको आरोप लागेको छ।

उपाधिका लागि पूर्व विजेता झापा-११ र सम्राट स्पोर्टिङ क्लबबीच शनिबार हुने तय भएको फाइनल खेल वर्षाका कारण स्थगित भएपछि आजका लागि सारिएको थियो।

तर, आज हुने फाइनल खेलअघि नै सम्राट स्पोर्टिङका दुई जना खेलाडी ‘भगाइएको’ आरोप क्लबले लगाएको हो। भगाइएका खेलाडीको नाम भने गोप्य राखिएको छ। यसबारे औपचारिक रूपमा पत्रकार सम्मेलन गरी जानकारी गराइने क्लबका अध्यक्ष किरण गिरीले बताएका छन्।

सहिद रंगशालामा फाइनल खेल सुरु हुनुअघि अध्यक्ष गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत षड्यन्त्र भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “मोरङ फुटबलका ठालुहरूको हैसियत देखियो । दलाल सबैको हिसाब–किताब हुन्छ।”

शनिबारको वर्षापछि मैदानमा पानी जमेकाले खेल स्थगित गरिएको थियो। विराट गोल्डकपको इतिहासमा झापा–११ दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु मैदानको फाइदा उठाउँदै सम्राट स्पोर्टिङ क्लब पहिलो सहभागितामै उपाधि उचाल्ने दाउमा थियो। तर, निर्णायक खेलअघि दुई खेलाडी नै गुमाएको आरोपले प्रतियोगिता विवादमा तानिएको छ।

गिरिले भने शनिबार समापनमा रास्वपाका सचेतक प्रकाचन्द्र परियारलाई कसले बोलायो र किन बोल्न दिइयो । यदी बोलाउनु पर्ने नै थियो भने सवै राजनैतिक दलका नेतालाई पनि बोलाएको भने राम्रो हुने थियो उनले भने ।

यता, एन्फा मोरङका अध्यक्ष सुशिल बुढाथोकीले भने आरोपप्रति असहमति जनाएका छन्। उनले पछिल्लो निर्वाचनको मतपरिणामपछि विभिन्न पक्षबाट अनावश्यक विषय बाहिर ल्याइएको दाबी गर्दै क्लब र खेलाडीबीचको सम्झौताको आधार खोज्नुपर्ने बताए।

“आफ्नै खुट्टामा बन्चरो कसैले हान्दैन,” उनले भने, “यस्तो आरोप लगाउनेभन्दा पनि बसेर समिक्षा गर्नु उपयुक्त हुन्छ। कसैले मोरङलाई अपमानित गर्दैन, गर्न पनि मिल्दैन।”

View : 50

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved