Biratnagar, Morang, Nepal
साहित्य

कविता

म गन्तव्यमा पुग्नेछु

-
अखवारका कुरा
६ असार २०८२, शुक्रवार

Advertisement

आज फेरि घामको किरणसँगै
नयाँ दिनको सुरुवात भयो,
हिजो झैँ केही झिँनाे आशा लिएर
फेरि पनि गन्तव्य चुम्ने आँट भयो। 

आमा–बुवाको सपना बोकी,
पूरा गर्ने विश्वास लिएर,
हिजोभन्दा साहसी भई
नयाँ ऊर्जा, नयाँ प्रयास लिएर। 

निस्किएकी छु म
संसार जित्ने संकल्प लिएर,
तर डर लाग्छ 
यस समाजको कठोर चाल देखेर। 

कस्तो नियम हो यहाँको?
म लम्किन खोजिरहेकी छु,
तर यहाँको फितलो नीति
मलाई अन्धकारतिर तानिरहेछ। 

निसासिँदै छु, आमा 
यहाँको गलत परिपाटी देखेर।
डर लाग्छ, बाबा 
सपना अधुरै नहोस् कि भनेर। 

रात फेरि ओझेलिँदै छ,
मन फेरि अल्मलिँदै छ,
गन्तव्यतर्फ उन्मुख पाइलाहरू
घरतिर फर्किँदै छन् । 

तर आशा छ, भोलि फेरि
घामको किरण झुल्किनेछ,
नयाँ बिहानसँगै
नयाँ आत्मबल पलाउनेछ। 

सपना बोकी, आँट संगाली,
म फेरि अघि बढ्नेछु,
र अन्ततः 
म गन्तव्यमा पुग्नेछु।

हो, म गन्तव्यमा पुग्नेछु।

आश्मा चालिसे खनाल 

View : 1365

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved