Biratnagar, Morang, Nepal
प्रदेश

कोशीमा सत्ता समीकरण बदलिन सक्ने काङ्ग्रेस सभापति थापाको संकेत

-
अखवारका कुरा
९ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापा ले कोशी प्रदेशमा केही दिनभित्रै सरकारको नेतृत्व परिवर्तन हुन सक्ने संकेत दिएका छन्। नेपाली कांग्रेसद्वारा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक अवस्था नयाँ समीकरणतर्फ उन्मुख रहेको बताएका हुन्।
थापाले प्रदेश र स्थानीय तहमा कांग्रेसको बलियो उपस्थिति रहेको उल्लेख गर्दै जनताका अपेक्षा सम्बोधन गर्न नेतृत्व परिवर्तन आवश्यक हुन सक्ने धारणा राखे। ‘प्रदेश र स्थानीय तहमा हामी सबैभन्दा ठूलो शक्ति हौं, केही प्रदेशमा नेतृत्व हाम्रो हातमा छ, बाँकीमा पनि चाँडै हुनेछ,’ उनले भने।
उनले कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिकालाई अझ प्रभावकारी बनाउँदै सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने चेतावनी दिए। ‘जनताका पक्षमा काम भएन भने हामी चुप लागेर बस्दैनौं,’ थापाको भनाइ थियो।
निर्वाचनमा पराजय बेहोरे पनि पार्टी पुनः संगठित भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै उनले कांग्रेस अझ सशक्त रूपमा उभिने दाबी गरे। ‘हामी हारबाट पनि सिक्छौं, पुनर्जीवित हुन्छौं र अझ बलियो बन्छौं,’ उनले भने।
कार्यक्रममा ‘जरा अभियान’बारे चर्चा गर्दै थापाले पार्टीका सदस्यहरूलाई प्रत्यक्ष रूपमा उपस्थित भएर विवरण अद्यावधिक गर्न आग्रह गरे। ‘यसपटक फाराम आफैंले भर्ने वातावरण बनाएका छौं,’ उनले भने।
कार्यक्रममा कांग्रेसकी उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे लगायत नेता-कार्यकर्ताको उपस्थिति रहेको थियो । 

View : 20

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved