Biratnagar, Morang, Nepal
पर्यटन

रारा तालमा वैशाख ३० मा ‘रारा ट्रेल रन’ प्रतियोगिता आयोजना हुने

-
अखवारका कुरा
५ वैशाख २०८३, शनिवार

Advertisement

काठमाडौं । रारा ताल केन्द्रित ‘रारा ट्रेल रन’ प्रतियोगिता यस वर्ष वैशाख ३० गते सञ्चालन हुने भएको छ । नेपाली सेना अन्तर्गतको हनुमान ध्वज गुल्मले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताको छैटौँ संस्करण बिहान १० बजेदेखि सुरु गरिने जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा गुल्मले प्रतियोगिताको तयारीबारे सरोकारवाला निकायलाई जानकारी गराएको हो । पाँच वर्षअघि सुरु गरिएको यस प्रतियोगिताले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने र राराको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगिता रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रारा ताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन हुनेछ । यसमा १८ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला र २०० जना पुरुष सहभागी हुनेछन् । साथै १० देखि ६० वर्ष उमेर समूहका लागि ५ किलोमिटर दूरीको ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको एक रातको बसोबास र खानपानको व्यवस्था रारास्थित होटल व्यवसायीले गर्ने जनाइएको छ । नाम दर्ता वैशाख १५ देखि २९ गतेसम्म हनुमान ध्वज गुल्म, हुटुमा गरिनेछ भने सहभागीहरूको स्वास्थ्य परीक्षण वैशाख २९ र ३० गते बिहानसम्म सञ्चालन गरिनेछ ।

कार्यक्रमका अवसरमा नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने सेनानी खड्गबहादुर श्रेष्ठ ले जानकारी दिएका छन् । प्रतियोगिताको कुल अनुमानित खर्च ७ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

View : 23

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved