१३ लाखको बिमा दाबीमा ७ लाख २४ हजार ठगीको आरोप
विराटनगर: बहराइनमा रोजगारीका लागि गएका एक श्रमिकको मृत्युपछि उनको हकदारलाई उपलब्ध गराउनुपर्ने बिमा रकम ठगी गरेको आरोपमा मोरङ प्रहरीले सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीका विराटनगर शाखा प्रबन्धकलाई पक्राउ गरेको छ। प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार पक्राउ पर्नेमा विराटनगर–३ निवासी ३९ वर्षीय सन्तोष अधिकारी रहेका छन्।
मोरङ प्रहरीका अनुसार केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्मा २०८० मा वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। त्यहाँ गम्भीर मृगौला रोग भएपछि उनी स्वदेश फर्किएका थिए। उपचारकै क्रममा उनको निधन भएपछि उनकी पत्नी भीमकुमारी विश्वकर्मा इन्सुरेन्स रकम लिन कम्पनी पुगेकी थिइन्।
तर बिमा प्रक्रिया र कानुनी ज्ञानको अभावको फाइदा उठाउँदै म्यानेजर अधिकारीले विभिन्न कागजातमा सहीछाप गराएर ग्लोबल आईएमई बैंकमा एकल तथा संयुक्त खाता खोल्न लगाएका थिए। उनले भीमकुमारीलाई चेकबुकमा समेत हस्ताक्षर गराएर रकम झिक्न मिल्ने अवस्था बनाएका थिए।
बिमा भुक्तानीका क्रममा १३ लाख रुपैयाँको दाबी भए पनि पीडित पक्षलाई मात्र ५ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको तथ्य खुलेपछि शंका उत्पन्न भएको थियो। घटनाको जानकारी पाएपछि मृतककी पत्नी भीमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन्।
अनुसन्धानका क्रममा सन्तोष अधिकारीले आफ्नो स्वार्थका लागि भीमकुमारीको नाममा १५ वर्षे अवधि भएको वार्षिक ७० हजार रुपैयाँको जीवन बिमा योजना खडा गरी आर्थिक भार सिर्जना गराएको पाइएको छ।
त्यस्तै, मृतकका भदै नाता पर्ने प्रतिक विश्वकर्मा र पहिलो पत्नी मिरा विश्वकर्माको नाममा क्रमशः ५१ हजार र ७० हजार रुपैयाँको बिमा समेत गराई रकमको दुरुपयोग गरेको खुलासा भएको छ।
अधिकारीले भीमकुमारीको नाममा ६ लाख ४४ हजार १७८ रुपैयाँको ‘फिक्स्ड डिपोजिट’समेत राखिदिएको अनुसन्धानमा पाइएको छ। यस घटनामा आपराधिक विश्वासघात र ठगीको मुद्दा दर्ता गरी थप अनुसन्धान जारी रहेको मोरङ प्रहरीले जनाएको छ।
View : 314
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved