धनगढी, कैलाली – कैलालीको धनगढीमा बोली, दन्त, नाक-कान-घाँटी तथा प्लास्टिक सर्जरी सम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सार्वजनिक स्वास्थ्य सरोकारमा निरन्तर क्रियाशील फेक्ट-नेपालद्वारा आयोजित यो शिविर रिसर्ज ईन्टरनेसनलको सहयोगमा तथा लायन्स क्लब अफ धनगढी ग्रीन सिटीको स्थानीय समन्वयमा सञ्चालन भएको थियो।
सुदूरपश्चिम प्रदेशका जिल्लाहरूबाट मात्र नभई लुम्बिनी र कर्णाली प्रदेशका दुर्गम भेगबाट समेत बिरामीहरूले विशेषज्ञ स्वास्थ्य सेवा लिन आएका थिए। फेक्ट-नेपालका नेपाल संयोजक कैलाश खाकी श्रेष्ठका अनुसार, ३१ जना बिरामीहरूले यस शिविरबाट प्रत्यक्ष लाभ उठाएका छन्।
शिविरमा ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो। बोलीको समस्या भोगिरहेका बिरामीहरूका लागि डा. भवानी प्रधान ले विशेष तालिम र थेरापी सत्रहरू सञ्चालन गर्नुभयो। उहाँले अस्पष्ट बोली र उच्चारण सम्बन्धी कठिनाइ भएका व्यक्तिहरूलाई आत्मविश्वासका साथ बोल्न मद्दत गर्ने प्रक्रियाहरू सिकाउनुभएको थियो।
संयोजक श्रेष्ठका अनुसार, अप्रेसन पछिको अवस्था र आवस्यकताको बारेमा प्रा. डा. शंकर मान राईले जांच गर्नुभयो।
दन्त समस्याको लागि डा. रितराज खड्का ले जाँच तथा उपचार सेवा दिनुभयो। यसैगरी, डा. डी.आर. कँडेल ले नाक, कान र घाँटी सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको परीक्षण र परामर्श प्रदान गर्नुभएको थियो।
यस शिविरलाई सफल बनाउन चिकित्सकहरूको टोलीका साथै स्वास्थ्यकर्मीहरू लीला राना, नीलम श्रेष्ठ, नैना महतो, पुष्पा गाहा, हेमा चौधरी, आशा शर्मा लगायतले बिरामीको हेरचाह र शिविर व्यवस्थापनमा अहम् भूमिका निभाएका थिए।
फेक्ट-नेपालका रिसर्ज परियोजना नेपाल संयोजक कैलाश खाकी श्रेष्ठले शिविरको सफलतामा सन्तोष व्यक्त गर्दै भन्नुभयो, "एकै ठाउँमा यति धेरै विशेषज्ञ सेवाहरू प्रदान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका दुर्गम क्षेत्रबाट आएका बिरामीहरूलाई सीधै विशेषज्ञ चिकित्सकको पहुँचमा ल्याउनुले यस्ता शिविरहरूको औचित्य पुष्टि गरेको छ। हामी आगामी दिनमा समुदाय यि कार्यक्रमहरूलाई निरन्तरता दिनेछौं।"
ReSurge International को मानवीय सहयोग र लायन्स क्लब अफ धनगढी ग्रीन सिटीको सक्रियतामा यो बृहत् स्वास्थ्य महाअभियान सफलतापूर्वक सम्पन्न गर्न सम्भव भएको लायन्सका अध्यक्ष पदम बिक्रम सिंहले बताउनु भयो।
View : 245
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved