Biratnagar, Morang, Nepal
शिक्षा

काठमाडौँ विश्वविद्यालयको अगुवाइमा विराटनगरमा शिक्षक सम्मेलन

“रुपान्तरणमुखि शिक्षामा अभ्यास” विषयक राष्ट्रिय शिक्षक सम्मेलन विराटनगरमा एस्पायर कलेजमा सम्पन्न

७ वटै प्रदेश समेट्ने श्रृङ्खलाको पहिलो कार्यक्रम एस्पायर कलेजबाट विधिवत रुपमा सुरु भएको हो ।
-
अखवारका कुरा
८ असार २०८२, सोमवार

Advertisement

विराटनगर— काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनद्वारा आयोजित राष्ट्रिय शिक्षक सम्मेलनको औपचारिक सुरुवात विराटनगरबाट गरिएको छ। “रुपान्तरणमुखि शिक्षामा अभ्यास” शीर्षकमा सञ्चालित सम्मेलनको पहिलो श्रृङ्खलाको उद्घाटन विराटनगरस्थित एस्पायर कलेजबाट गरिएको हो। सम्मेलनको सभापतित्व स्कुल अफ एजुकेशनका सि.पि.इ.सि. संयोजक सन्दीप ढुंगानाले गरेका थिए।

“७ प्रदेश, ७ सम्मेलन” भन्ने नारासहित सुरु गरिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुइटेल प्रमुख वक्ताका रूपमा सहभागी थिए। कार्यक्रममा प्रा.डा. लुइटेलले रुपान्तरणमुखि शिक्षाको अवधारणा, यसको आवश्यकता, कार्यान्वयन प्रक्रिया, सिकाइ वातावरण र मूल्याङ्कन प्रणालीका विविध पक्षमा विस्तृत प्रस्तुति दिएका थिए।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्रा.डा. धनपति सुवेदी, स्टिम एजुकेशन विभाग प्रमुख डा. विनोद पन्त, एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी, निर्देशक प्रतिक राउत, नेशनल प्याब्सन कोशी प्रदेश अध्यक्ष राजन पौडेल तथा शिक्षा विकास निर्देशनालय कोशी प्रदेश (धनकुटा) का निर्देशक कृष्णप्रसाद पोखरेलको विशेष उपस्थिति रहेको थियो।

एस्पायर कलेजका प्रिन्सिपल चिन्तामणि बस्नेतले स्वागत मन्तव्य दिंदै कलेजले शैक्षिक क्षेत्रमा नयाँ अभ्यासहरू लागू गर्दै काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नमुना संस्था बन्ने लक्ष्य लिएको उल्लेख गरे। उनले सम्मेलनलाई निरन्तरता दिँदै देशभर शिक्षकहरूलाई प्रयोगात्मक र रुपान्तरणमुखि शिक्षा प्रणालीतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे।

सम्मेलनमा कोशी प्रदेशका १४ वटै जिल्लाबाट आएका १८७ जना शिक्षक, शिक्षाविद् तथा प्राज्ञिक व्यक्तित्वहरूको सहभागिता थियो। सम्मेलनअन्तर्गत २० वटा समानान्तर सत्र सञ्चालन गरिए, जसमा इनोभेटिभ पेडालोजी, एआई इन एजुकेशन, डिफरेन्सियटेड इन्स्ट्रक्सन, र नेतृत्व विकास जस्ता समसामयिक शैक्षिक विषयमा कार्यशाला तथा प्यानल छलफल गरियो।

प्रा.डा. धनपति सुवेदी र उपप्राध्यापक डा. विनोद पन्तले नेतृत्व विकास र शिक्षामा सरोकारका विविध पक्षमा घन्टा लामो कार्यशाला सञ्चालन गरेका थिए। शिक्षक सम्मेलनले रुपान्तरणमुखि शिक्षाको अवधारणा व्यवहारिक रुपमा कार्यान्वयन गर्न प्रेरणा र दिशा दिएको सहभागीहरूले बताएका छन्।

शिक्षा क्षेत्रका नवनवीन प्रयोग र प्रयोगात्मक अभ्यासमार्फत प्रणालीगत रुपान्तरण गर्नुपर्ने आवश्यकता झल्काउने सम्मेलनको दोस्रो श्रृङ्खला अन्य प्रदेशमा समेत  हुने आयोजकले जानकारी दिएको छ।

View : 143

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved