किशोर–किशोरी ,युवाको मानसिक स्वास्थ्य
नेपालमा हाल किशोर–किशोरी र युवाहरूको मानसिक स्वास्थ्य अवस्था गम्भीर र जटिल बन्दै गएको छ। तीव्र जीवनशैली, सामाजिक अपेक्षा, शैक्षिक दबाब, बेरोजगारी र सम्बन्धजन्य असफलताले यो उमेर समूहलाई चिन्ता, डिप्रेसन, आत्मग्लानि र आत्महत्याको जोखिमतर्फ धकेलिरहेको देखिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेकाे राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण (२०१९–२०) अनुसार, १३–१७ वर्षका किशोरहरूमा कुनै न कुनै मनोवैज्ञानिक समस्या रहेको दर ५.२% र हाल सक्रिय मानसिक समस्या ३.९% रहेको पाइन्छ भने आत्महत्या प्रयास गर्ने दर ०.७% छ। वयस्क (१८+) मा मानसिक विकारको जीवनकालपीक दर १०% र आत्महत्या सोच्नेहरूको प्रतिशत ६.५% रहेको देखिन्छ।
विश्व स्वास्थ्य संगठन (WHO) अनुसार, विश्वका १०–१९ वर्ष उमेर समूहका करिब १४% किशोरहरू कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन्। नेपालमा यो अनुपात तुलनात्मक रूपमा कम देखिए पनि, वास्तविकतामा समस्या अझ गहिरो छ किनकि हामीकहाँ चेतना, पहुँच र परामर्शको सुविधा सीमित छ। नेपालमा प्रति १ लाख जनसंख्यामा करिब ०.२२ जना मात्र मनोरोग चिकित्सक र ०.०६ जना मात्र मनोविद् छन्, र कुल स्वास्थ्य बजेटको ०.१७% मात्र मानसिक स्वास्थ्यमा खर्च गरिन्छ।
किशोरहरूमा मानसिक समस्या बढ्नुका प्रमुख कारणहरूमा शैक्षिक दबाब, बेरोजगारी, भविष्यप्रतिको अन्योल, पारिवारिक विघटन, प्रेम सम्बन्धमा असफलता, सामाजिक सञ्जालको दुरुपयोग, लागूपदार्थको प्रयोग, र आत्म–छविमा असन्तोषजस्ता तत्वहरू रहेका छन्। सामाजिक सञ्जाल, विशेषत: टिकटक र इन्स्टाग्राममा अरूको ‘सफल जीवन’ हेर्दा धेरै युवाहरूमा “म पर्याप्त छैन” भन्ने सोच विकसित भएको देखिन्छ, जसले चिन्ता, एक्लोपन र आत्मग्लानि निम्त्याउँछ। COVID-19 को महामारीपछि सामाजिक अलगाव, पढाइमा ग्याप र भविष्यप्रतिको अन्योलले थप मानसिक दबाब सिर्जना गरेको छ।
यस समस्यालाई समाधान गर्न निम्न रणनीतिहरू संचालन गर्न सकिन्छ ।
विद्यालय तथा कलेजहरूमा मानसिक स्वास्थ्य शिक्षा अनिवार्य गर्नु: सातामा एक घण्टा जीवनोपयोगी सीप वा भावना व्यवस्थापनसम्बन्धी कक्षा सञ्चालन गरी आत्म–चिन्तन, सहानुभूति, तनाव व्यवस्थापन, आत्मविश्वास विकासका अभ्यासहरू गराउनु पर्छ।
दक्ष मनोपरामर्शदाता र स्कुल काउन्सेलरको व्यवस्था: हरेक विद्यालय वा नगरपालिकामा कम्तीमा एकजना प्रशिक्षित मनोपरामर्शदाता अनिवार्य राख्नुपर्छ।
शिक्षक तथा अभिभावकलाई तालिम: विद्यार्थीको व्यवहार परिवर्तन (जस्तै, मौनता, चिढचिढाहट) लाई गम्भीर रूपमा लिन अभिभावक र शिक्षकहरूलाई आधारभूत तालिम दिनुपर्छ।
पुनर्स्थापना सेवा र केन्द्रहरूको विस्तार: लागूपदार्थको लत नियन्त्रणका लागि निःशुल्क वा सहुलियत दरमा सेवा दिने सरकारी पुनर्स्थापना केन्द्रहरू स्थापना गर्नुपर्छ।
सञ्चारमाध्यमको सकारात्मक भूमिका: आत्म-स्वीकृति, आत्म-मूल्य र मानसिक सशक्तिकरणसम्बन्धी सन्देश प्रवाह गर्ने कार्यक्रमहरू प्रोत्साहन गर्नुपर्छ।
सरकारी नीति र बजेट: मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नीति निर्माण, बजेट वृद्धि र स्वास्थ्य संस्थामा सेवा पहुँच विस्तार गर्न आवश्यक छ।
जनस्वास्थ्यका दृष्टिकोणबाट गरिन सक्ने गतिबिधीहरु:
मानसिक स्वास्थ्य समस्या समाधानको जिम्मेवारी केवल स्वास्थ्य संस्था वा चिकित्सकको मात्र होइन। यसमा सबै तहबाट संयुक्त प्रयास आवश्यक छ:
व्यक्तिगत तहमा: मानसिक स्वास्थ्यको ख्याल राख्न, ध्यान, योग, सकारात्मक सोच र सामाजिक सञ्जालको सीमित प्रयोग अभ्यास गर्ने। तनाव हुँदा नजिकको व्यक्तिसँग कुरा गर्ने र आवश्यक परे विशेषज्ञ परामर्श लिने ।
अभिभावक र परिवार: बच्चाको भावना बुझ्ने, गुणात्मक समय बिताउने र समस्या संकेत देखेमा गम्भीरतापूर्वक लिने। पिरलो लुकाउने संस्कार हटाएर संवादको संस्कार बढाउने ।
सामुदायिक तहमा: क्लब, मठ–मन्दिर वा टोलस्तरीय संस्थाहरूले युवा लक्षित कार्यक्रम, समूह संवाद तथा आत्महत्या रोकथामसम्बन्धी सहारा समूह गठन गर्ने ।
स्थानीय सरकार र संघीय सरकार: विद्यालय पाठ्यक्रममा मानसिक स्वास्थ्य समावेश, मनोपरामर्श केन्द्र स्थापना, हेल्पलाइन सेवा, र गाउँगाउँमा प्रशिक्षित स्वास्थ्यकर्मी परिचालन गर्ने। बजेट तथा नीति निर्माणमा मानसिक स्वास्थ्यलाई प्राथमिकता दिने ।
अन्ततः, किशोर–किशोरी र युवाहरू नै राष्ट्रको भविष्य हुन्। उनीहरूको मानसिक स्वास्थ्य बलियो भए मात्र देशको समग्र उन्नति सम्भव हुन्छ। मानसिक स्वास्थ्य अब ‘लक्जरी’ नभई ‘जीवनको आधारभूत आवश्यकता’ हो भन्ने बुझाइबाट अघि बढ्दै, समाज, अभिभावक, विद्यालय, समुदाय र सरकारबीचको सहकार्य आजको आवश्यकता हो।
View : 652
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved