कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

काठमाडौं आइपुगे भारतीय विदेशमन्त्री जयशंकर

-
अखवारका कुरा
१९ पुष २०८०, बिहिवार

१९ पुस, काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।


भारतीय वायु सेवाको विशेष विमानमार्फत् आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम छ ।

दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने छन् ।

शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर उनी मध्याह्न स्वदेश फर्किने छन् ।

कोभिड महामारीका कारण विगत दुई वर्ष परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक हुन सकेको थिएन । त्यसअघि २०७७ साल माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो । त्यसयता रोकिएको सातौं बैठक यस पटक काठमाडौंमा हुन लागेको हो ।

संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका वृहत्त विषयमा समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकमा दुई देश बीचको व्यापार असन्तुलन कम गर्ने, आयात निर्यातमा सन्तुलन कायम गर्ने, ऊर्जा व्यापार लगायतका विषयमा छलफल गर्ने तयारी छ ।

जयशंकरको भ्रमणका क्रममा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गर्ने तयारीसमेत छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।

श्रोत: OnlineKhabar

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved