कन्चंबारी, बिराटनगर
७ जेठ २०८१, सोमवार
९७०४५०४६७५
शिक्षा

देशको समग्र शिक्षा सुधारका लागि शैक्षिक अभियान कार्यक्रम घोषणा

-
अखवारका कुरा
४ माघ २०८०, बिहिवार


काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर सञ्चालन गर्ने शैक्षिक सुधार अभियानका कार्यक्रमहरू घोषणा गरेको छ ।  
बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र सुधारका लागि राष्ट्रव्यापी शैक्षिक अभियानका कार्यक्रमहरू घोषणा गरेको हो । 
विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले देशको समग्र शैक्षिक अवस्था विस्तारै खस्कदै गइरहेकोले विद्यार्थी परिषद्ले प्रवेश, परीक्षा, परिणाम, पात्रो र पाठ्यक्रम सुधार गर्नु पर्ने आवश्यकता भएकोले राष्ट्रव्यापी शैक्षिक अभियान सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । 
आज विश्वविद्यालयहरूको उपकुलपति, रेक्टर, रजिस्ट्रार दलीय भागबन्डाबाट नियुक्ति हुने परिपाटीको अन्त्य गर्नु पर्ने, नैतिक शिक्षा लागू गर्नु पर्ने, ट्रान्स्कृप्ट लिने व्यवस्था अनिवार्य रूपमा अनलाइनबाट गरिनु पर्ने, नेपाली भाषामा पनि प्रश्न पत्र तयार गर्नु पर्ने, कक्षा १२ सम्म संविधानमा निर्दिष्ट गरिएको निःशुल्क शिक्षालाई छिटो भन्दा छिटो लागू गर्नु पर्ने जस्ता मागहरू राख्दै शैक्षिक अभियान सञ्चालन गर्न  लागिएकाे महासचिव पंगेनीले बताए ।  
साथै राष्ट्रिय मिडिया प्रमुख कृष्ण हुमागाईंले त्रिविको मुल्यांकन पद्धति ठिक नभएको र स्नातक तहसम्म नेपाली मिडियममा अध्ययन गरेका विद्यार्थीले भाषाकै कारण प्रश्नपत्र बुझन नसकेर फेल भएको उल्लेख गर्दै छिटो भन्दा छिटो दुवै भाषामा प्रश्नपत्र तयार गर्न माग गरेका थिए । साथै उनले उपकुलपति नियुक्तिका लागि दलको नेताहरूलाई भेट्न बन्द गर्दै कसरी विश्वविद्यालय राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रीत गर्न अनुरोध गरेका थिए । 
परिषद्का केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्यौपानेले विश्वविद्यालयका पदाधिकारीहरूले दलको झोला बोक्ने अनि शिक्षा क्षेत्र बिग्रियाे भन्ने चिन्ता गर्ने नैतिकता कसरी हुन सक्छ ? भनि प्रश्न गरे । उनले देशको माटो महापुरूष, संस्कृतिको सम्मान गर्ने राजनतिक दलबाट स्वतन्त्र रहेका प्राज्ञिक व्यत्तित्वले मात्रै विश्वविद्यालय लगायत समग्र शैक्षिक क्षेत्र सुधार गर्न सक्ने भएकोले  त्यसमा केन्द्रीत हुनु पर्ने आवश्यकता रहेकोले बताए । 


परिषद्ले अभियान अगाडी देशभर शैक्षिक सर्वेक्षण सम्पन्न गरिसकेको र माघ महिना भर देशभरका प्राज्ञिक वर्ग, विद्यार्थी समूह, शिक्षकवर्ग तथा समाजका विभिन्न निकायसमक्ष बृहत् भेटघाट तथा अन्तरक्रिया गर्ने, देशका प्रमुख क्याम्पसमा विचारगोष्ठी तथा अन्तरक्रिया सञ्चालन गर्ने, अभियानको क्रममा देशका प्रमुख स्थानमा शिक्षाका महत्वपूर्ण मुद्दालाई लिएर दबाव ¥¥याली गर्ने प्राज्ञिक व्यक्तिहरूबाट सुझाव संकलन गर्ने, मागपत्र प्रस्तुत गर्ने, देशका सबै जिल्लामार्फत् सम्बन्धित निकायलाई ज्ञापनपत्र प्रस्तुत गर्ने, देशभरबाट आएका सुझाव तथा विषयलाई समावेश गरेर काठमाडौँमा विशेष अन्तरक्रिया गर्ने, जस पश्चात् विश्वविद्यालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग आदि निकायमा सुधारका लागि सुझाव पेश गर्ने, त्यसबाट पनि मागहरु सुनुवाई नभए विद्यार्थी दबाव आन्दोलन गर्ने, धर्ना, अनसन गर्ने जस्ता कार्यक्रमहरु घोषण गरेको छ ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved