कन्चंबारी, बिराटनगर
२८ वैशाख २०८१, शुक्रवार
९७०४५०४६७५
प्रदेश

पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

-
अखवारका कुरा
७ फागुन २०८०, सोमवार


विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो ।

अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज दाहाल र समाजसेवी गणेश प्रसाद पोखरेललाई प्रिन्सिपल शिव प्रसाद अघिकारी र बाल्मीकी स्कुलकी प्रिन्सिपल सावित्रा पराजुलीले सम्मान गरेका थिए । यसैगरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 

कार्यक्रममा अभिभावकको तर्फबाट जिवन कोइरालाले मन्तव्य राखेका थिए । प्रिन्सिपल अधिकारीले विद्यालयको योजना र विद्यालयले गर्दै गरेका गतिविधिका बारेमा अभिभावकलाई जानकारी गराएका थिए । उनले विद्यालयले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्रै सिमित नराखेर हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न क्रियाकलापहरू गर्दै आएको बताए ।

अभिभावक दिवसमा विद्यार्थीहरूले मारवाडी नृत्य, झागड नृत्य, सन्थाल नृत्य, मगर नृत्य, लोक नृत्यलगायत विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने गीत पनि गाएका थिए । 

यस्तै विद्यार्थीहरूले ‘असल साथी’ नामक नाटक समेत प्रस्तुत गरेका थिए । यस्तै शिक्षिकाहरूले पनि नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, विद्यार्थी, विभिन्न विद्यालयका प्रिन्सिपललगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved